Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बजेट नहुँदा झोलुङ्गे पुल अलपत्र

बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ । स्थानीयले पुलको निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन् ।  

मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो । क्रमागत रुपमा सङ्घीय सरकारले बजेट पठाउला भन्ने आशले तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का लगाइएको मेचीनगर नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताए । 

सरकारले क्रमागत रुपमा ज्यादै थोरै बजेट पठाएपछि बिलको भुक्तानी नगरपालिकाले दिन नसक्दा झोलुङ्गे पुल निर्माणको काम रोकिएको छ । आधुनिक शैलीको उक्त पुल ३५० मिटरको हुने र त्यसको कूल लागत रु. चार करोड ३८ लाख रहेको इन्जिनियर भट्टराईले बताए । सिभिल कन्स्ट्रक्सनको कार्य पूरा भएर लागतको ३० प्रतिशत बिल भुक्तानीका लागि निर्माण व्यवसायी पक्षले पेस गरेको जानकारी दिदै इन्जिनियर भट्टराईले भुक्तानी दिन नसकिएको स्वीकार गरे। 

“बदनियत राखेर ठेकेदार पक्षले काम रोकेको होइन,” उनले भने–“क्रमागत रुपमा बजेट आइरहेकै छ  तर तोकिए जति आएको छैन । अर्थमन्त्रालयले बजेट दिन सकेन भन्ने विषयमा हामी केही भन्न सक्दैनौं ।” स्थानीयबासीले ठेकेदार पक्षले पुलको निर्माण अलपत्र पारेर हिँडेको आरोप लगाएका छन् । मेचीनगर–१५ ज्यामिरगढीका जयराम दाहालले सङ्घीय सांसद् विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले पुल अलपत्र हुँदा वेवास्ता गर्नुभएको गुनासो गरे । उक्त झोलुङ्गे पुलको शिलान्यास  सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले संयुक्तरूपमा गरेका थिए ।