Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

जिबी राईलाई पक्राउ नगरेर सरकारले मलाई फसाउन खोज्यो - रवि लामिछाने

प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्नु हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जिबी राईलाई पक्रन नचाहेको आरोप लगाएका छन्। लामिछानेले संगठित रुपमा आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको समेत बताएका छन् । उनले सरकारमाथि जिबी राईलाई पक्राउ गर्न नचाहेको आरोप लगाएका हुन्। 

मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य र बिभिन्न शक्तिहरुले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताएका हुन् । उनले आफूले जनताका अगाडी शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुने दाबी गरे । 

प्रदेश संरचनाको औचित्यमाथि पनि उनले प्रश्न उठाएका छन्। उनले विद्यमान प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्नु नहुने बताए। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको आरोप पनि लगाए। उनले पीडितलाई न्याय दिलाउनुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको आरोप‍समेत गृहमन्त्री श्रेष्ठमाथि आरोप लगाए।

उनले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जिबीलाई किन समाउन नसकेको भनि प्रश्नसमेत गरे। ‘म यहाँहरुलाई भन्न चाहन्छु, यदि सरकारले अथवा गृहमन्त्रीज्युले साँच्चै सहकारी पीडितलाई न्याय दिनुपर्‍यो। भागेकाहरुलाई समातेर भए पनि, यिनको सम्पत्ति कब्जा गरेर, कानून ल्याएर सबै पीडितलाई बाँड्नुपर्‍यो भनेर लागि परेको भए अहिलेसम्म कैयौँ पीडितहरुले पैसा पाइसक्थे‚’ उनले भने‚ ‘तर उहाँको ध्यान त यसलाई छोड्नुभएन।  रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुस् त भनेर यति समय लाउनुभयो। केही भए पो पाउनु? भए त किन छोड्थे र?’

गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनुभन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको भन्दै लामिछानेले आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने दावी गरे। उनले सरकारले चाहे जिबी राईलाई पक्रन सक्ने पनि बताए।

‘एउटा योजना बनाएर पीडितहरुलाई न्याय दिन सोचेको भए, मेरो पछि लाग्ने समय पीडितहरुलाई दिन लागेको भएपनि पीडितलाई न्याय दिन सकिन्थ्यो। तर उहाँहरुलाई त रवि लामिछानेलाई थुन्नुपरेको छ‚ दोषी देखाउनु परेको छ‚ डाम्नु परेको छ‚’ उनले भने‚ ‘सक्नुहुन्न‚ सक्दै सक्नुहुन्न। असम्भव। मलाई ठगजस्तो प्रमाणित गर्न खोज्नुभयो। नलिएको पैसा पनि लियो भन्नुभयो। जिबी राई समाउनतिर लागेको हो र? रवि लामिछाने भेटिन्छ कि भनेर लागेको हो।’

उनले सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरेको आरोप लगाए। ‘तर मलाई राम्रोसँग थाहा छ, त्यो फाइल कहाँसम्म पुग्छ? त्यो जरो कहाँसम्म हल्लिन्छ भन्ने‚’ उनले भने‚ ‘उहाँहरुलाई चाहिएको रवि लामिछानेलाई फसाउन सकिन्छ कि?  रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर खोजेको हो।’ 

सभापति लामिछानेले मिसन ०८४ आफूहरुको लागि भएको बताए। उनले घण्टी चुनाव चिह्न पाउनासाथ चुनाव नजितिने भन्दै असल मान्छेले घण्टी पाएमात्रै चुनाव जित्ने बताए।

उनले कसैले कसैले पनि आफूले पहिले पार्टी सदस्यता लिएको र झण्डा पहिले बोकेको भनेर नेतृत्वमा दावी नगर्न आग्रह गरे। कोही दौडिएर पहिले पार्टीमा आएको भरमा चुनाव नजितिने भन्दै आफूहरु क्षमतावान व्यक्ति खोज्न हिँडेको उनको भनाइ थियो।