धनगढी । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग पछिल्लो समय प्रायोजक जोडिने क्रम बढेको छ । हिजोमात्रै काठमाडौको रामसाहपथमा रहेको भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीले सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमलाई जर्सी प्रदान गरेको हो ।
काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिरहेको सुदूरपश्चिम टिमका सदस्यहरुलाई र चितवनमा जारी मैयादेवी यु-१९ टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिरहेको सुदूरपश्चिम प्रदेशको महिला टोलीका सदस्यहरुलाई भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीले एकर एक जोर जर्सी प्रदान गरेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशिले बताए ।
अध्यक्ष जोशिले भने भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीका संचालक भरत तिमिल्सिना जिले हामीलाई ठूलो सहयोग गर्नुभएको छ उहाँलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । यसरी प्रायोजन गर्ने साथीहरु जोडिदा हामीलाई पनि हौसला मिल्छ खेलाडीलाई नि केही न केहि राहत मिल्छ,हामी सबै मिलेर देशको क्रिकेट अघि बढाउने हो अध्यक्ष जोशिले भने । भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सी काठमाडौ,चितवन र बुटवलमा शाखा संचालन गरि वैदेशिक रोजगारीमा जाने चाहानेहरुलाई सहि परामर्श दिएर काम गरिरहेको संचालक भरत तिमिल्सिनाले बताए ।
सुदूरपश्चिम प्रदेशको क्रिकेट टिमलाई यो भन्दा अगाडि पनि धेरैले प्रायोजन गरिसकेका छन् । केपि ओलि कप पोखरामा संचालन हुँदा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य एवं माया मेट्रो अस्पताल धनगढीका अध्यक्ष धिरेन्द्र साउँदले पनि जाकेट प्रायोजन गरेका थिए । जारी प्रधानमन्त्री कपमा प्रादेशिक क्रिकेट संघका सदस्य तेज कार्कीले १५ जोर किड ब्याग उपलब्ध गराएका थिए भने सुदूरपश्चिमाञ्चल एकेडेमी धनगढीले पनि जर्सी प्रायोजन गरेको थियो ।