Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कतार एएफसी एसियन कपको क्वार्टर फाइनलमा

घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

कतार एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्बाघले ३७ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा कतारले बराबरी गरेको थियो । कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए ।


प्यालेस्टाइनका मोहम्मद सालेहले एल्मोएज अलीलाई फल गरेपछि कतारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै अकरम अफीफले ४९औं मिनेटमा गोल गरेपछि कतारले २–१ गोलको अग्रता बनाएको थियो । त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा अन्ततः कतार नै २–१ गोलको जितका साथ अन्तिम ८ मा पुग्न सफल भयो ।