Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले माघ ७ गते आइतबार बैंक परिसरमा भव्यताका साथ उक्त समारोह सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पानसमा दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेका थिए । तत् पश्चात् प्रमुख अतिथि गभर्नर अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त भएको विचार व्यक्त गरे ।

KDBLL.jpg

कषि विकास बैंकले दोश्रो त्रैमासमा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हित चाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै उनले बैंकको प्रशंसा गरे । प्रमुख अतिथि गभर्नर अधिकारीले बैंकको कल सेन्टरको उद्घाटन गरे भने यसै अवसरमा बैंकको ओभरड्राफ्ट कार्ड समेत जारी गर्दै अत्यावश्यक सेवाहरु संचालनमा ल्याएकोमा बैंकलाई धन्यवाद व्यक्त गरे ।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कृषि विकास बैंकका पूर्व महाप्रबन्धक रामचन्द्र महर्जन, कृषि विकास बैंक पूर्व कर्मचारी समाजका अध्यक्ष मुकेश श्रेष्ठ लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हाल बैंकको गतिविधिको समेत जानकारी दिएका थिए ।

KDBLLL.jpg

समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।