Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एक महिनाभित्र विधेयक पेस गर्छौं: उर्जामन्त्री बस्नेत

 उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेस गर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस तथा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले देशमा जलवायु परिवर्तनको प्रभाव नकारात्मक दृष्टिले बढ्दै गइरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न स्वच्छ उर्जा उत्पादन गर्नु आवश्यक रहेको औंल्याए । उनले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेस गर्ने जानकारी दिएका हुन् ।  उनले भने, ‘अहिले जलवायु परिवर्तनको प्रभाव जसरी नकारात्मक दृष्टिले अत्यन्तै बढ्दै गइरहेको छ । त्यसलाई न्यूनीकरण गर्न क्लिन इनर्जीको उत्पादन गर्नुछ । त्यसैले यसको महत्वको बारेमा सरकारले गम्भीरतासाथ सोचिराखेको छ । नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेस गर्दैछौँ । ’ 

उनले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो भनेर तथ्याङ्कमा आधारित नभइ बर्बादीको मात्र गीत नगाउन आग्रह गरे । उनले वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बताए । तथ्यलाई नहेरी देश बर्बादीमा गयो भनेर गीतमात्र गाएर नहुने र त्यसले निराश मात्र बनाउने साथै राष्ट्र निर्माणको लागि चाहिने आवश्यक तागत सृजना गर्न नसक्ने बताए ।