१९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनको बफेलो पार्कमा आज (बुधवार) भएको खेलमा पाकिस्तान नेपालले दिएको १९८ रनको लक्ष्य अजान अवेसको अर्धशतकीय पारीको मद्दतले ४७ ओभर ४ बलमा ५ विकेटमात्र गुमाउँदै भेट्टायो।
पाकिस्तानका लागि अवेसले ८२ बलमा ६ चौकासहित अविजित रहेर ६३ रन बनाए। अवेसलाई १८ बल खेलेर २ चौकाको सहायतामा अविजित रहँदै १५ रन बनाएर हारुन अर्सदले खेल जिताउन सघाए। पाकिस्तानका लागि ओपनर जोडी शामिल हुसेनले १ छक्का र ४ चौकासहित ३७ र शाहजाब खानले १ छक्का र ३ चौकाको मद्दतमा ३७ रन नै बनाएर बलियो शुरुवात गरे। दुवैले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरे। विकेटकिपर कप्तान साद बेग डक आउट भए पनि अहमद हसनले २९ रन बनाए।
नेपालका लागि आकाश चन्दले ३ विकेट तथा दीपक कँडेल र आकाश त्रिपाठीले १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रनमात्र बनाउन सक्यो।
नेपालका लागि आज डेव्यु गरेका विपिन रावलले सर्वाधिक ३९ रनको योगदान गरे पनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन्। आजकै खेलमा डेव्यु गरेका अर्का खेलाडी दिपक डुम्रेले २६ रन, कप्तान देव खनालले २३ रन, सुभाष भण्डारीले २० रन र गुल्सन झाले १८ रनको योगदान गरे।
आकाश चन्द १६ रनमा अविजित रहे पनि पाकिस्तानी बलरसामु आज नेपाली ब्याटर खुलेर खेल्न सकेनन्। आजै डेव्यु गरेका तेस्रा नेपाली खेलाडी दुर्गेश गुप्ता शून्यमै पवेलियन फर्किए। नेपाललाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ पाकिस्तानका अराफात मिन्हासले ३ विकेट लिए। उवेद साह र अहमद हसनले २/२ विकेट लिए भने खुबेब खलिल‚ मोहमद जीशान र अली अर्सदले १/१ विकेट लिए।
पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराउँदै उच्च लयमा रहेको पाकिस्तानले आज नेपाललाई हराउँदै लगातार दोस्रो खेल जितेर दोस्रो चरणको सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल आज एशियाली पावरहाउस पाकिस्तानसँग पराजित भएपछि दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ।