Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो

किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए।  मोरङ बेलबारी नगरपालिकाको सहजीकरण तथा प्रयोगशालाको आयोजनामा बेलबारीस्थित घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा स्थानीय ५६ किसानको सहभागिता थियो ।  उक्त शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लिय, क्षारीय, नाईट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूबनोट जाँच गरिएको प्रमुख यादवले जानकारी दिए। उनका अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ  । 

अम्लीयपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको प्रमुख यादवको भनाइ थियो ।