जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीले सरकारमा साझेदार गर्ने खालको आचरण नदेखाएको बताएका छन् । उनले सहकार्य गर्न नसकेर मधेस सरकारबाट जनमत पार्टी भागेको समेत आरोप लगाए ।
उनले भने, ‘सत्ता सहकार्य गर्न नसकेर सरकारबाट भागेका हुन् । सहकार्य गर्ने आचरण नै छैन ।’ उनले भने, ‘गठबन्धनमा बसेपछि केही आचरणको पालना गर्नुपर्ने हुन्छ । त्यो उहाँहरूले राख्न सक्नु भएन । दोष अर्कालाई दिएर हुँदैन । गैर राजनीतिक चरित्र देखियो । उछिङखलता र उदन्डता देखियो । यसरी कसरी सहकार्य गर्ने ।’
उनले गठबन्धनमा बस्ने तर गठबन्धनको चरम विरोध गर्ने प्रवृत्ति हाबी भएकोले आफूले पटक-पटक सुधार गर्न भनेको तर अराजकता नै निरन्तर देखिएपछि वास्ता गर्न छाडेको बताए । उनले भने, ‘चरित्र सुधार्नुपर्छ राजनीतिक संस्कार स्थापना गर्न संस्कार बसाउनुपर्छ । यसरी त हुँदैन सहकार्य ।’ मंगलबार जनमत पार्टी दुई मन्त्रीसहित मधेस सरकारबाट बिदा भएको छ । उसले जनमत पार्टी अध्यक्ष र मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले चरम दमन गरेको भन्दै बिदा भएको छ ।