Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

विश्व शान्तिको मामिलामा नेपाल प्रतिवद्ध: परराष्ट्रमन्त्री साउद

 परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रिकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको बताएका छन् । उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए ।

साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौँमा सुरु भएको एसिया प्रशान्त क्षेत्रको तीन दिने तयारी बैठक सम्बोधन गर्दै मन्त्री साउदले सो कुरा बताएको हो ।

नेपाल सरकार र शान्ति एवम् निःशस्त्रिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको तयारी बैठकमा उनले साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनु पर्नेमा पनि जोड दिए । हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमनचयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकरात्मक प्रभाव पर्न जाने उनको भनाइ थियो।

निःशस्त्रिकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधिहरू सहभागी बैठकमा परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि दोहोर्‍याए । बुद्धको जन्मस्थान, शान्ति भूमि नेपालमा निःशस्त्रिकरण विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाइ थियो।

साना हतियारको अवैध व्यापार नियन्त्रण सम्बन्धी राष्ट्रसंघीय कार्ययोजना सन् २००१ मा अनुमोदन भएयता राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रयासहरू भए पनि अवैध हतियारको ओसारपसार र प्रयोग घटाउन तथा नियन्त्रण गर्न नसकिएको पनि मन्त्री साउदले बताए ।