Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दुग्धजन्य पदार्थको बजारीकरणमा समस्या, समाधानमा ध्यान दिन सरोकारवालाको आग्रह

दूध उत्पादन र दुग्धजन्य पदार्थको बजारमा देखिएको समस्या समाधानमा संघ र प्रदेश सरकार एवं स्थानीय तहले ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

दूध उत्पादनको अग्रणी जिल्ला इलाममा भएको सरोकारवालाहरुको अन्तरक्रियामा सहभागीहरुले दूधको गुणस्तर सुधार गरिनुपर्नेमा पनि जोड दिएका छन् । उनीहरुले दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनुपर्ने, संघ, प्रदेश र स्थानीय तहले समयमै समाधानको पहल गर्नुपर्ने, विदेशबाट आयात भइरहेको दुग्धजन्य उत्पादनलाई नियन्त्रणका लागि भन्सार बिन्दुमा क्वारेन्टाइन जाँच र नियन्त्रण हुनुपर्ने माग गरेका छन् ।

यसैगरी, दुग्ध विकास संस्थानले किसानहरुलाई भुक्तान दिनुपर्ने रकम समयमा भुक्तान गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउने खालका नीति तथा कार्यक्रम लागू गर्नुपर्ने, गाईपालक कृषकहरुलाई समयानुकूल अनुदान दिनुपर्ने पनि सहभागीहरुले बताएका थिए ।

यसैगरी, दुग्धजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आवश्यक नीति तथा कार्यक्रम आउनुपर्नेमा किसान तथा व्यवसायीले जोड दिए । दुग्धजन्य उत्पादनमा आधारित उद्योग स्थापनाका लागि कार्यक्रम आउनुपर्ने, दुग्ध विकास संस्थानअन्तर्गत रहेका पुवाखोला चिस्यान केन्द्र र बागखोर चिस्यान केन्द्रलाई यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा पनि उनीहरुले ध्यानाकर्षण गराए ।

इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्या र समाधानका विषयमा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले दुध उत्पादन र बजारीकरणको क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गरेर पहल गरिने प्रतिबद्धता जनाएका थिए ।