Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

संसदीय समितिले माग्यो स्वास्थ्य मन्त्रालयको प्रगति विवरण

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्यमन्त्री बस्नेतसँग छलफल गर्ने निर्णय गरेको हो । 

सोमबार बोलाइएको बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरूले दिएको प्रस्तुति चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरिएको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।त्यस्तै बैठकले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखित रूपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरूको पहिचान गर्नका लागि सम्बन्धित स्वायत्त निकायहरू राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बीमा बोर्ड लगायतसँग पनि छुट्टछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।