Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधानमन्त्री कप: गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेश केवल २५ रनमा समेटिएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५ ओभर २ बल खेल्दै २५ रन बनाएर अलआउट भएको हो ।

कोशी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ८ रन बनाएका थिए भने चार खेलाडी शून्यमा आउट भएका थिए । कोशीको ब्याटिङ लाइन ध्वस्त गर्न गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले ६ विकेट लिएका थिए । त्यस्तै, सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानले एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८ ओभर २ बलमा अल आउट हुँदै १६७ रन बनाएको थियो । कोशी प्रदेशका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएका थिए । यो गण्डकी प्रदेशको पहिलो जित हो । गण्डकीले ४ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । त्यस्तै, कोशी प्रदेशले भने लगातार छैटौं हार व्यहोरेको छ ।

अब गण्डकी प्रदेशले अर्को खेल मंगलबार बागमती प्रदेशसँग त्रिवि मैदानमा खेल्ने छ भने कोशी प्रदेशले मंगलबार नै मूलपानी मैदानमा कर्णाली प्रदेशसँग खेल्ने तालिका रहेको छ ।