Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गाजामा थप सामग्री वितरणको महासचिव गुटेरेसद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्‍याउन र गाजामा बन्धक बनाइएका व्यक्तिहरूलाई अत्यावश्यक औषधि पुर्‍याउन गरिएको अभियानको स्वागत गरेका  छन् । 

गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले भने, ‘गाजामा यी अत्यावश्यक सामग्री र मानवीय सहायताको प्रवेश उत्साहजनक छ, तर गाजा पट्टीमा अझै धेरै सहायता आउन आवश्यक छ ।’ दुजारिकका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुखले अत्यावश्यक सामग्री र मानवीय सहायताका लागि कतार र फ्रान्सको प्रयासको पनि प्रशंसा गरेका छन् । महासचिवले तत्काल मानवीय युद्धविरामका लागि आफ्नो अपिल र बन्धकहरूलाई तत्काल र बिनासर्त रिहा गर्न र उनीहरूको मानवीय व्यवहारका लागि आफ्नो आह्वान पनि दोहोर्‍याए।

गुटेरेसले गाजामा पर्याप्त मानवीय सहायता आवश्यक पर्ने ठाउँमा पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै गाजा पट्टीमा आधारभूत वस्तु ल्याउन निजी क्षेत्रलाई पुनः सक्रिय बनाउन आग्रह गरे । महासचिवले यस क्षेत्रमा बढ्दो तनावबारे चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको दुजारिकले बताए ।  कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजा पट्टीमा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता बुधबार उक्त क्षेत्रमा प्रवेश गरेको कतारले जनाएको छ ।