Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चितुवाको आतंक बढेपछि स्थानीय त्रसित

तनहुँ जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतंक बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । 

व्यास–६ साजा, शिशाघाट क्षेत्रमा चितुवा आतंक बढ्न थालेको स्थानीय साजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले बताए । उनका अनुसार केही दिनयता तीन बोका, चार बाच्छा र चार वटा कुकुर मारिसकेका छन् । टोलबस्तीमा चितुवा देखिन थालेपछि सतर्कता अपनाएर सुरक्षित हुन स्थानीयलाई अनुरोध गरिएको उनले बताए ।  बस्ती नजिकै घना जंगल रहेकाले साँझ र बिहानको समयमा हिँड्डुल गर्न समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । गाईबस्तु र बाख्रा चराउन जाँदा दिउँसोको समयमा पनि चितुवा भेटिने गरेको स्थानीयवासी बताउँछन् । 

डिभिजन वन कार्यालयसँग समन्वय गरी खोर राखेर नियन्त्रण गरिदिने विषयमा विषयमा छलफल भइरहेको ढुङ्गानाले जानकारी दिए। त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल आसपास क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।  साँझमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले बताए। उनका अनुसार साँझपख बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरिएको छ । 

चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षमा १३ बालबालिकाले ज्यान गुमाइसकेका डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिए। धनजनको क्षति हुनबाट रोक्न चितुवाका लागि पासो थापेर नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।