Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अनाथ बच्चाका लागि गल्फ खेलाडी शिन जी–याईले गरिन् ८ करोड दान

दक्षिण कोरियाली एक विश्वविख्यात गल्फ खेलाडीले आमाबाबु गुमाएका टुहुरा बालबच्चाको हितका लागि करोडौं रकम दान गरेकी छन्। 

कोरियाली गल्फर शिन जी–याईले आमा र बाबु वा दुवैले आत्महत्या गरेपछि चर्को आर्थिक कठिनाइको सामना गरिरहेका बालबालिकालाई आफूले जितेको पुरस्कारमध्येबाट यसरी सहयोग गरेकी हुन्। कोरिया फाउन्डेसन फर सुसाइड प्रिभेन्सन मार्फत हालसालै शिन जी–याईले ती बालबालिकालाई सहयोग गर्ने एउटा परियोजनाका लागि कोरियाली मुद्रा २० मिलियन वोन (४ लाख १४ हजार ९०० अमेरिकी डलर) दान गरिन्।

एक वा दुवै अभिभावकले आत्महत्या गरी आफ्नो ज्यान लिएर आफ्ना छोराछोरीलाई अनाथ पारेपछि आर्थिक कठिनाइका साथै मानसिक वा भावनात्मक आघात परेको पाईएपछि त्यस्ता बालबालिकाको शैक्षिक र उपचार खर्च प्रदान गर्ने उद्देश्यले यो परियोजना सञ्चालन गरिएको छ। पूर्व विश्व नम्बर १ गल्फर शिन जी–याईले दुई प्रमुख सहित ११ एलपिजिए टुर जितेकी छन्। उनले ती बच्चाहरूलाई स्वस्थ हुर्कन मद्दत गर्न २०१७ देखि निरन्तर सहयोग दिँदै आएकी छन्।

उनले हालसम्म ८५ मिलियन वन दान गरिसकेकी उक्त संस्थाले  जनाएको छ। ‘म खुशी छु कि बच्चाहरूलाई मद्दत गर्न सक्छु’ शिनले भनिन्, “मलाई आशा छ उनीहरूले आशा गुमाउने छैनन् र उनीहरूको सपनाहरू पूरा गर्नेछन्।’
फाउन्डेसनका अध्यक्ष ह्वाङ ताई–योनले भने, “शिनले लामो समयदेखि नियमित रूपमा आफ्नो न्यानो हृदयले बालबालिकालाई सहयोग गरिरहनुभएकोले हामी शिनप्रति धेरै सम्मान र कृतज्ञ छौं।’