Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

साथै निवेदकले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।

404898185_805521801410066_4720971770274490074_n_pX1qeoWPBK.webp

 

404606724_352546040894260_313977267370757901_n_rAYuw7cfAj.webp