Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई

 घरघरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ ।

मैथिल धमाधम ‘सनेस’ ९कोसेली० पुर्‍याउने चटारोमा छन् । घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ ।
मिथिला क्षेत्रका घरघरमा अहिले तील, चिउरा, जुनेलो र मुरीका ‘लाइ’ बनाउन थालिएको छ । सोमबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको ‘सनेस’ नातेदारका घरमा पुर्‍याउने परम्परा धान्न ‘लाइ’ बनाउने व्यस्तता बढेको हो ।

विवाहित छोरी, दिदीबहिनी, फुपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको ‘सनेस’ पठाउने स्थापित मैथिल परम्परा  छ । ‘पर्व मनाइएपछि ‘लाइ’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्नपछि सनेस पठाउनुपर्ने भएकाले अहिले घरघरै यो कामले छोपेको छ’, बर्दिबास– ९ पशुपतिनगरकी शैल महतो भन्छिन्, ‘यो सामाजिक–पारिवारिक वास्तासँग जोडिएको परम्परा बन्यो, मैथिल संस्कृति हो ।’

अघिअघिका वर्षमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नुपरेको छ ।