Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीले पानी पिएर मेलम्चीको पानी काठमाडौंमा पुनः वितरण थालियो

बाह्रै महिना पानी आउने व्यवस्था गर्न निर्देशन

काठमाडौँ उपत्यकामा आज सोमबारदेखि मेलम्चीको पानी पुनः वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।

Melamchi-1.webp

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।

melamchi-prachanda.webp

प्रधानमन्त्री ‘प्रचण्ड’ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए । ‘मलाइ गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिएँ, तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद, अब वितरणको काम दिगो हुने छ, १२ महिना ल्याउन यहाँबाट सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छु’, उनले भने । उनले जटिल समस्या आए सरकारले तत्कालै सम्बोधन गर्ने पनि बताए । ‘बाढीको कारण १२ महिना पानी ल्याउन सकिएन,अब यसलाई सरकारले पहिलो प्राथमिकता दिएको छ’, उनले भने ।