Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

यू-१९ विश्वकप: आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

आईसीसीले यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको हो ।

 कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र दुर्गेशले यू–१९ तहमा शानदार प्रदर्शन गर्दै आएका छन् । विश्वकपअघि नेपालले शनिबार खेलेको वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । वर्षाले प्रभावित खेलमा स्कटल्याण्डलाई नेपालले डिएल मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपालले त्यसअघि खेलेका दुई अनौपचारिक वार्म अप खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो ।

नेपालले अब दोस्रो वार्मअप खेल मंगलबार वेस्ट इन्डिजसँग खेल्दै छ । जनवरी १९ देखि सुरु हुने यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम–

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ‘ए’, दिपक बोहरा ‘बी’, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।