Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

 उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्वयन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको बताए। कार्यक्रमबाट चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा पालिकाभित्रका २९ गर्भवतीले सेवा लिएका छन् ।

‘भौगोलिक हिसाबले जटिल धार्चे गाउँपालिकाको सबै वडामा यातायातको सहज पहुँच छैन, यस्तो कठिनाइका बीच पनि गर्भवतीको स्वास्थ्य जाँचका लागि अन्यत्र अस्पतालसम्म धाएर पुग्नुपर्ने भएकाले गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मी पठाएर घुम्ती सेवामार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ’, अध्यक्ष गुरुङले भने ।

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएपछि गाउँका गर्भवतीका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको उनले बताए । प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सकिने भएको छ ।