Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कोशीमा सभामुख लिएको विषय छलफलमै छ: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा पार्टीले सभामुख लिएको विषयमा आफ्नो पार्टीभित्र दुई मत देखापरेको बताएका छन् । पार्टीभित्र यसबारे दुईथरी विचार आएको लिङदेनले बताएका छन् । 

भृकुटीमण्डपमा राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङदेनले भने, ‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन, योभन्दा अगाडि बागमतीमा पनि हाम्रो सहभागिता छ । लुम्बिनी प्रदेशमा उपसभामुखका रुपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन ।’
अध्यक्ष लिङदेनले अगाडि भने, ‘तर अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुखमा हामी जाने कि नजाने भन्ने छलफलकै विषय थियो । हतार गर्नुहुन्न भन्ने हामीसबैको सहमति थियो । म देशबाहिर भएका बेला हाम्रो कोशी प्रदेशका साथीहरूले निर्णय गरेर र सहभागी हुनुभयो ।’

अध्यक्ष लिङदेन भन्छन्, ‘यस विषयमा विभिन्न मतहरु छन् । एकथरि साथीहरूको चर्को स्वरमा तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने पनि छ । अर्कोतर्फ साथीहरुको के तर्क छ भने कोशीमा मात्र होइन, हामी त अगाडिदेखि नै सहभागी छौं । प्रदेशसभामा होस् वा प्रतिनिधिसभामा, यदि संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद सभामुख हामीले कसैसँग शर्त नगरिकन पाउँछौं भने त्यो कसरी अन्यथा हो, त्यो कार्यकारी पद पनि होइन भन्ने तर्क पनि साथीहरुको छँदैछ । सदस्य हुने सभामुखचाहिँ नहुने भन्ने कुरा पनि छ ।’ सभामुखमा रहने कि फिर्ता हुने भन्नेबारे केन्द्रीय कार्यसमितिको बैठक बसेर उचित निर्णयमा पुग्ने लिङदेनले बताए ।
पृथ्वीनारायण नभएको भए‘।

अध्यक्ष लिङदेनले पृथ्वीनारायण शाह नभएको भए आज पुष्पकमल दाहाल प्रधानमन्त्री र रामचन्द्र पौडेल राष्ट्रपति नहुने टिप्पणी गरे । उनले भने, ‘पृथ्वीनारायण शाह नभएको भए आज उहाँहरु कहाँको प्रधानमन्त्री र कहाँको राष्ट्रपति हुनुहुन्थ्यो?’ उनले थपे, ‘पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन कसैले पनि हीनताबोध गर्नु हुँदैन । कसैले पनि लाज मान्नुहुँदैन ।’ गत वर्ष भन्दा यस वर्ष पृथ्वी जयन्ती उल्लासमय वातावरणमा मनाइएको लिङदेनले बताए । देशैभरि पार्टीका नेताहरूलाई खटाएर राप्रपाले राष्ट्रिय एकता दिवस मनाएको लिङदेनले जानकारी दिए ।