Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीलाई

पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा पुलिसले साबिक विजेता एपीएफ क्लबलाई तीन-एकको सेटमा स्तब्ध पारेको हो ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुला कोर्टमा भएको खेलमा एपीएफले एक सेटको अग्रता जोगाउन सकेन् । पहिलो सेट २५-२२ ले जितेको थियो । तर बाँकी सेटमा पुलिसले उत्कृष्ट पुनरागमन गर्यो ।

दोस्रो सेट २५-१९ ले जित्दै पुलिसले सेट बराबरी गरेको थियो । बाँकी दुई सेटमा पनि एपीएफ खेलमा फर्कन सकेन् । पुलिस २५-१८, २५-२३ को जितका साथ च्याम्पियन बनेको हो । यो प्रतियोगितामा एपीएफ अपराजित रहँदै फाइनल पुगेको थियो । उसले पहिलो हार फाइनलमै बेहोर्यो ।

यसैबीच विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश, राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । आज भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले आर्मीमाथि चार सेटको जित हात पारेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा गण्डकीले २५-२२ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा गण्डकीले सेट प्वाइन्ट जोगाउन नसक्दा आर्मीले २६-२४ को नतिजासहित पुनरागमनको प्रयास गर्यो ।

रोमाञ्चक तेस्रो सेटमा भने गण्डकीले नतिजा उल्ट्यायो । यो सेट उसले २६-२४ जित्यो । चौथो सेटमा २५-२२ को नतिजा निकाल्दै गण्डकीले बाजी मार्यो ।

योसँगै आर्मीलाई ३-१ को सेटमा पराजित गरेको गण्डकीले तेस्रो स्थान हासिल गर्यो । गण्डकीले समूह चरणमा बेहोरेको हारको समेत बदला लिएको छ । समूह चरणमा आर्मीले गण्डकीलाई ३-० सेटमा पराजित गरेको थियो ।