Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आरजु राणाको माग

सत्तारुढ नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले ‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।

आज बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको जिकिर गरिन् । उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् ।


विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने उनको भनाइ छ । यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको औंल्याइन् । ‘सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक छ’, उनले भनिन्, ‘धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ ।’

उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन् । ‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौं । विवाहको लागि लाइसेन्स लिने प्रक्रिया राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त रु’, उनले भनिन्, ‘विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ ।’