Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भिमादमा जिप दुर्घटना, एकजनाको मृत्यु

 तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो ।


घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ । ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो । थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।