Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चिसो अत्यधिक बढेपछि रौतहटका विद्यालयहरूमा बिदा दिइँदै

रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । त्यसअनुसार कतिपय विद्यालयहरुले बिदा दिन थालेका छन् ।

शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम ३ मा तोकिएबमोजिम विदा दिन सूचनामा भनिएको छ ।  एक शैक्षिक सत्रमा हिउँद बिदा वा बर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान बमोजिम बर्षे विदा संञ्चित रहेकोबाट आवश्यकता अनुसार जाडो विदा दिन सुझाव दिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गौरका प्रमुख रामविनय सिंहद्वारा हस्ताक्षरित सूचनामा जाडो अत्यधिक बढेकाले बिदा दिन आग्रह गरिएको हो ।
चन्द्रपुर नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाले सामुदायिक तथा संस्थागत विद्यलायलाई पुस २४ गते देखि माघ ५ गतेसम्म विदा दिएको जनाएको छ । 

चन्द्रपुर नगरपालिका वडा नं. ५ मा रहेको जनज्योति माध्यमिक विद्यालयले १३ दिन जाडो विदा दिएको छ । चन्द्रपुर नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा चन्द्रनिगाहपुरको मिति २०८०–९–२३ को च.नं. ३३९ को पत्रानुसार शैक्षिक क्यालेण्डर २०८० बमोजिमको बाँकी रहेकाले १३ दिन बिदा मध्ये कट्टा हुने गरी बिदा दिएको उल्लेख गरेको छ ।  जनज्योति माध्यमिक विद्यालयले सोमबार निकालेको सूचनामा पुस २४ गतेदेखि माघ ५ गते शुक्रबारसम्म विद्यालयको पठन पाठन बन्द गरिएको जनाएको छ । 

विद्यालयको पठनपाठन माघ ७ गतेदेखि यथावत् विद्यालय सञ्चालन हुने जारी सूचनामा उल्लेख छ । तर यस बीचको अवधिमा सार्वजनिक बिदाबाहेक विद्यालय प्रशासन भने खुल्ला रहने जानकारी गराएको छ । केही दिनदेखि अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जाडो विदा दिएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।  यस अवधिमा आफनो बालबालिकालाई घरमै अध्ययन गराउनका लागि अभिभावकलाई आग्रह समेत गरिएको छ ।