Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अर्थमन्त्री महत भारत प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत भारत गएका छन् । उनी मंगलबार बिहान ११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।  अर्थमन्त्री महत दिल्लीबाट गुजरात जानेछन् । भोलिदेखि २७ गतेसम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस) मा नेपालको प्रतिनिधित्व गर्न उनी त्यसतर्फ गएका हुन् ।

उनका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार मन्त्री महतले समिटमा आफ्नो विशेष प्रस्तुति दिने र भारतीय उद्योगीसँग भेट गर्ने क्रार्यक्रम छ । उनी शुक्रबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ । १०औँ संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । सन् २००३ देखि प्रत्येक दुईरदुई वर्षमा आयोजना हुँदै आएको समिट यसपटक चार वर्षपछि आयोजना हुन लागेको हो । यसअघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।

समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै मन्त्री महतको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ ।