सुरक्षा संयन्त्रको बैठक बस्दै
सर्लाहीको बरहथवा बजार क्षेत्र आज (शनिबार) सुनसान छ । आज बिहान ८ बजेसम्मका लागि लगाएको कर्फ्यु कायमै छ । पछिल्लो अवस्थाको आंकलन गरी थप निर्णय गर्न अहिले सुरक्षा संयन्त्रको बैठक बस्न लागेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिएका छन् । हिजो तनाव भएको ठाउँमा प्रहरी खटिएका छन् ।
स्तरोन्नतिका लागि नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग गरी भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षका जयशंकर साहको ज्यान गएको थियो । लगत्तै हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।
स्थानीय बासिन्दाले मृतकको शवसहित हिजो प्रदर्शन गरेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान हुने बताए ।
मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन नदिएका वरहथवा ६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले जानकारी दिए । प्रदर्शनको क्रममा अर्का एक स्थानीयलाई पनि गोली लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको वडाध्यक्ष आलमले बताए ।
बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गत असोजको निर्णय बरहथवा नगरपालिकाले उल्टाएपछि कांग्रेससहितका दलले गरेको प्रर्दशनको क्रममा घटना भएको हो । प्रदर्शनको क्रममा मेयर कल्पना कटुवालको घरमा समेत आगजनी र तोडफोड भएपछि बलप्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
झडपको क्रममा स्थानीयको ढुंगामुढा प्रहारबाट ८ जना प्रहरी घाइते भएका छन् । ‘घाइतेमध्ये भिखारी यादवको अवस्था गम्भीर छ,’ दिपेन्द्र डीएसपी पञ्जियारले भने, ‘उनलाई बरहथवामा प्राथमिक उपचार गरी गए राति वीरगञ्ज लगिएको थियो। वीरगञ्जबाट पनि काठमाडौँ रेफर भइसकेको छ । अवस्था चिन्ताजनक छ ।’