Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भैरहवामा पुगेर पूर्वराजाले भने– ‘म कतै गएको छैन, सदासदा नेपालीको साथमा छु’

हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । भैरहवामा आयोजित नागरिक अभिनन्दनमा बोल्दै पूर्व राजा शाहले आफूले देश बनोस् र देश बचोस् भनेर आफूले पुर्ख्यौली भावना पोखिरहेको बताए ।

‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुख–दुःख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

त्यस्तै आफू जता गए पनि राजा आउ देश बचाउको नारा सुन्ने गरेको बताए । ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’ उनले भने, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’ उनले भने ।

अहिले युवा जनशक्ति बाहिरिएको सन्दर्भमा समेत पूर्व राजा ज्ञानेन्द्रले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्नो देशको माया नभएर नभइ अवस्था बिग्रिएका कारण युवा जनशक्ति बाहिर पलायन भइरहेकाले त्यसलाई सुधार गर्नुपर्ने बताए ।

‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’ पूर्व राजा ज्ञानेन्द्रले भने । देशमा भइरहेको अन्याय, अत्याचार मुक्त गर्नका लागि वर्तमान शासकलाई आग्रह गरेका छन् ।

‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’ पूर्व राजा शाहले भने ।