Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

विद्युत आपूर्ति बन्द: उद्योगहरूको उत्पादन ठप्प

लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइकन विद्युत महशुलको विषयलाई लिएर विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन ठप्प हुनेगरी विद्युत लाइन काटिएको सम्वन्धमा उद्योगीहरुले ध्यानाकर्षण भएको जनाएका छन् । 

उनीहरुले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला भनेर प्रश्न उठाएका छन् । उत्पादन ठप्प हुँदा रोजगारी, राजश्व तथा बैंक व्याज भुक्तानी, बजार शृङ्खला लगायतको क्षेत्र प्रभावित भएको उनीहरुले जनाएका छन् । विद्युत आपूर्ति बन्द भइ औद्योगिक कलकारखाना बन्द हुँदा उत्पादन प्रभावित भएको तर सरकारले समस्याको गम्भीरतालाई आत्मसात गरी न्यायोचित समाधानका लागि पहल गर्न नसकेको जनाइएको छ । डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरु बिच हँुदै आएको रस्साकस्सी र आ–आफ्नो अडानका कारण पेचिलो बनेको यो बिषयलाई न्यायोचित समाधान खोजिनु पर्दछ भन्ने माग उद्योगीले अघि सारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्युत आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सुचारु गरी त्रिपक्षीय सरोकारवालाहरु नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई न्यायोचित निरुपण गरी निजी क्षेत्रले समेत न्याय अनुभूति गर्नेगरी तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरुमा जोडदार माग गर्दछौ ।’

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघका अध्यक्ष पवन सारडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।