Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

राष्ट्र निर्माणका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरूरी रहेको बताएका छन्। आज बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘‘समाजका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ। तपाईहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवन उपयोगी र अनुपम हुनुपर्दछ। तर, द्रूततर विकास निर्माणबाट प्राकृतिक वातावरणमा प्रतिकुल असर पनि परिरहेको छ। नेपालको पर्यावरणमा यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ।’’

‘‘विद्यमान अवस्थामा ठूलो पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ। विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो’’ प्रधानमन्त्रीले भने, ‘‘यसले समान्य रुपमा गतिलिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समयसीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनूभूति गरेका छौं। यस्ता कठिनाइहरूलाई चिर्दै अब्वल व्यवस्थापकीय ढंगबाट आफ्नो ज्ञान र सीपको सदुपयोगद्वारा भौतिक पूर्वाधार निर्माणको गतिलाई तीब्रताका साथ अगाडि बढाउँदै समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुशी ल्याउन सकिनेछ, जुन कुराको सामथ्र्यता र समाधान तपाई प्राविधिक जनशक्तिबाट मात्र सम्भव हुन्छ।’’

‘‘विकास र इन्जिनियर एक आपसका परिपूरक हुन्। देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायकोे भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउनेछ’’ प्रधानमन्त्रीले भने ।