Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मन्त्री अनितादेवी र जनमतका अध्यक्ष सीके राउतसहित कार्यकर्ता रिहा

प्रहरीले पक्राउ गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता–कार्यकर्ता रिहा भएका छन् । ‘धोती दिवस’ मनाउन माइतीघर मण्डलमा भेला भएकाका बेला पक्राउ परेका जनमतका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायत नेता–कार्यकर्ता दिउँसो २ बजे रिहा भएको पार्टीका सचिव बिपी साहले जानकारी दिए ।

‘गृहमन्त्री नारायणकाजी श्रेष्ठ आउनु भएको थियो । उहाँ आफैंले हात समातेर अध्यक्ष ज्यूलाई उठाएर बाहिर ल्याउनु भयो,’ साहले भने, ‘हामी ६३ जना नै रिहा भयौं ।’ ‘धोती’ लाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने माग राख्दै जनमतले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले अध्यक्ष राउत, मन्त्री अनिता देवीसहित नेता कार्यकर्ता पक्राउ गरेर पुलिस क्लबमा राखेको थियो । ‘धोती दिवस’ मनाउन पाउनुपर्ने माग राख्दै मन्त्री अनिता देवीले पुलिस क्लबमा अनसन समेत सुरू गरेकी थिइन् ।