Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कांग्रेसले बालकुमारी गोली काण्डको न्यायिक छानविन माग्यो

 नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा दुइ युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।  आज केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उक्त जानकारी दिएका हुन् ।

उनले भने, ‘सरकारले यो घटनालाई गम्भीरताका साथ लिएर उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कार्वाही गर्ने, रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धी विवादबाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तीमा एकजना सदस्यलाई स्वदेशमै उचित रोजगारी प्रदान गर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, घाईतेको निःशुल्क उपचार गर्नु पर्ने माग काङ्ग्रेसको रहेको छ ।’
यस्तै, काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक विशेष नीति अवलम्बन गर्न र मुलुकमा थप रोजगारीका अवसर सृजना गर्ने र वैदेशिक रोजगारलाई पनि आकर्षक पारिश्रमिक भएका मुलुकसँग श्रम सम्झौता गरि समग्र रोजगारीको क्षेत्र सुधार गर्न पनि माग गरेको छ । 

यस्तै, राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ़ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने र नेपाली कांग्रेसले उम्मेद्वार प्रस्तुत गर्दा विधानको धारा ३२१९० बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरू मध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुयाउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने, २०८० मंसिर २९ गते बसेको कार्यसम्पादन समितिको बैठकद्वारा २०८० फागुन ७ देखि १० गते गर्ने भनि निर्णय गरिएको महासमितिको बैठकको मिति परिमार्जनलाई अनुमोदन गर्ने जस्ता निर्णयहरु पनि भएका छन् ।