भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको बताएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले आज शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइ दिएका हुन् ।
‘म हतारमा बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ । बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ, मलाई थाहा थिएन । उनीहरू आन्दोलन गरिरहेका थिए । प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ । हाम्रो गाडीलाई बीचमा पारिहाले । निशानामा हामी पर्यौं । उनीहरूले पहिले हावा खुस्काए । धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’ उनले भने ।
आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताएका छन् । ‘हामी कसोकसो उम्कियौं । ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । सबै त्यहीँ पर्यो । हामी भीडबाट सकुशल उम्कियौं । गाडी चाहिँ पूरै आगो लगाएका छन् । त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ उनले भने ।