Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बडुवालवासी

आफूले उपभोग गर्दै आएको जमिनको  जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्चर्य लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवश छन् ।

भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुर्जा नपाएको दशकौँ वितिसक्यो । जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ । स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडा सदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी –३ का महिला वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा साढे तीन सय परिवारमा बीस प्रतिशतले मात्रै जग्गाधनी पुर्जा भएको जानकारी दिइन् । उनका अनुसार स्थानीयले २०५४ सालमा जग्गाधनी पुर्जा पाएका थिए ।

विसं २०७४ को निर्वाचन आसपास जोगबुढा नदीमा झोलुङ्गे पुल र नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि बडुवाल टोलवासीले आफू नेपाली हुनुको आभाष पाएको उनको भनाइ छ । पश्चिम भारततर्फ घनाजङ्गल र पूर्वतर्फ जोगबुढा नदीबीचको बडुवाल टोलमा अझै स्थानीयवासीको प्रमुख माग नै आफूले लामो समय भोगचलन गरेको जग्गाको पुर्जा पाउँ भन्ने छ । ‘भारतबाट आउने जङ्गली हात्तीले स्थानीयको ज्यान लिँदा पनि सरकारबाट जग्गा धनी पुर्जा नभएकै कारण क्षतिपूर्ति नपाएको पीडा बडुवाल टोलवासीले भोगेको उनले बताइन् ।  उनले भनिन्, ‘दुखः, पीडा नभनी माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बसेका समुदायलाई कहीँकतैबाट सहानुभूति मिलेन ।’

सरकारी सुविधाका नाउँमा गाउँमा कच्ची सडक, सोलार बत्ती, एउटा खोप केन्द्र, प्राथमिक तहको स्कुल र पछिल्लो समय सशस्त्र प्रहरी बलको उपस्थितिबाहेक केही छैन । स्थानीय गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलको अधिकांश जमिन फिल्डबुकमा मात्रै कायम रहेको बताए । ‘२०५४ सालमा केहीले पुर्जा पाए पनि पछि आयोग फेरि आउँछ भनेर बन्द गरेछन्’, उनले भने, ‘हामीलाई त कसैले सुविधा के दियौँभन्दा सबैको एक स्वर जग्गाको पुर्जा नै हो ।’ उनले सीमामा माटोको रक्षा गर्दै बसेका बडुवाल टोलीवासीमा पुर्जा नदिएर अन्याय गरिएको दुखेसो पोखे ।

महाकाली नदी नै सीमा नदीका रुपमा हेरिए पनि कञ्चनपुरका सवालमा भने त्यो लागू हुँदैन । महाकाली पारी दोधारा चाँदनी नगरपालिका छ । दोधारा चाँदनी नगरपालिकामा पनि जोगबुढा नदी बग्छ । जोगबुढा नदी पारी यहाँ दुई  सीमा बस्ती छन् । जबडुवाल टोल र कुतियाकवर । दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने कुतियाकवर बस्तीमा ४२ विपन्न समुदायको लामो समयदेखि बसोबास रहे पनि स्थानीयको हातमा अझै जग्गाधनी पुर्जा नपुगेको स्थानीय बहादुर सिंह सुनारको भनाई छ ।

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ का वडासदस्य लक्ष्मी रानाले भूमि आयोगमार्फत पुनः बडुवाल टोललगायत वडामा पुर्जा वितरणका लागि नापी आउन लागेको जानकारी दिइन् । ‘यही पुस २२ गते नापी आउने भनेर वडामा पत्राचार भइसकेको छ’, उनले भने, ‘आशा छ सीमाबस्तीदेखि सबैले जग्गाधनी पुर्जा पाउनेछन् ।’ उनले सीमामा सिपाहीको भूमि निभाएका सीमाबस्तीका स्थानीयलाई राज्यबाट थप सहुलियतका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी अढाइ दशकदेखि बडुवाल टोलमा बस्दै आएका स्थानीय कमला सुनारले भारतीय जङ्गलबाट हरेक वर्ष आउने हात्तीबाट प्रताडित हुँदा पनि राज्यबाट कुनै चासो नदिइएको गुनासो पोखिन् । त्यसैगरी अर्का स्थानीय द्रोपती आउजीले सीमामा बिना सुविधा माटोको माया गरेर बस्दा पनि राज्यले बेवास्ता गरेको दुखेसो पोखिन । ‘अन्धकार बस्तीमा पनि कुनै सुख सुविधा नभनेर मुलुकको सीमा अतिक्रमणबाट जोगाऔँ’, उनले भनिन्, ‘न बालबालिकाले राम्रो शिक्षादिक्षा पाए नत घर अग्रजले कुनै ज्याला मजदुरी नै ।’