Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

परिवर्तनका लागि अब जनता जाग्नुपर्छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले आज स्याङ्जाको वालिङमा आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उनले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताए ।

देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नका लागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ थियो । ‘देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ’, उनले भने । ‘विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरूको समन्वय र सहकार्यमा पार्टीले नीति तथा योजना बनाइरहेको छ’, अध्यक्ष्य लामिछानेले भने, ‘हामी बोलेर भन्दा काम गरेर देखाउँछौँ, योजनाबद्ध तरिकाले अगाडि बढ्छौँ, ढुक्क हुनुहोस् ।’

हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीतिको अन्त्यका लागि पार्टी निरन्तररूपमा लाग्ने उनले बताए । भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताका साथ उठाएको र पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाइएमा तत्कालै कारबाही गर्ने पनि बताए ।