कुनै आधुनिक ज्ञान, सीप र प्रविधि, न कुनै प्राविधिक सहयोग । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका किसानले आफ्नै हिसाबले परम्परागत रूपमा सुन्तला खेती लगाउँदै आएका छन् । दोरम्बा शैलुङका केही वडाकाको भूगोल सुन्तला खेतीको लागि उपयुक्त हावापानी भएको क्षेत्रमा पर्छ । यहाँका दोरम्बा, टोकरपुर, गुन्साल र लखनपुरका दुईवटा वडा सुन्तला खेती हुने गरेको छ ।
अधिकांश किसानले सुन्तला लगाएका छन् । टेक्सिङ, दर्गा, पूँडी लगायतका क्षेत्रका किसानको वषौंदेखि व्यावसायिक रूपमा सुन्तला खेती छ । ५० घरधुरीभन्दा बढीले खेती भने परम्परागत रूपमै गरेका छन् । परम्परागत खेती गर्दा कुनै याम राम्रै उत्पादन छ भने कुनै वर्ष निकै कम फल्ने गरेको छ ।

गाउँका एउटै किसानको बगैंचामा २ सय बढी सुन्तलाका बोट छन् । ‘घरैपिच्छे सबैका सुन्तला बगैंचा छन्, बगैंचामा ५०/६० वर्ष पुराना बिरुवासम्म छन्,’ स्थानीय किसान पेमासिं तामाङले भने । विगतमा गाउँसम्म सडक पुगेको थिएन । सुन्तलाले आम्दानी दिँदैनथ्यो । अहिले गाउँसम्म पुगेका सडकका कारण सुन्तलाको बिक्रीबाट किसानले फाइदा पाइरहेका छन् । ‘व्यापारीहरू सुन्तला किन्न गाउँमा नै आउँछन्, तर पनि राम्रो भाउ भने पाइँदैन । तैपनि त्यसै कुहिएर जानुभन्दा बिक्री भएको छ,’ अर्का किसान औतारसिंह लामाले भने ।
वषौंदेखि सुन्तला खेती गर्दै आएका किसानका बगैंचामा न सरकारी अनुदान पुगेको छ, न कुनै प्रविधि र प्राविधिक सहयोग । त्यसैले धेरै किसानलाई बगैंचा व्यवस्थापनको ज्ञान छैन् । न सुन्तला र बोटमा लाग्ने रोगकिरा नियन्त्रणको प्राविधिक ज्ञान छ । ‘हामीले आफ्नै हिसाबले लगाउँदै आएका छौं, रोगकिरा लागेर बोट म¥ो भने काटेर फालिदियो, फेरि अर्को बोट लगायो, रोग लाग्छ, किरा लाग्छ, सुन्तला झरेर जान्छ, जति बाँकी बस्छ, त्यही बेच्ने हो,’ लामाले भने ।

धेरैका बारीपिच्छे सुन्तलाका बगैंचा भए पनि अव्यवस्थित रहेको रामेछापका अगुवा किसान दावासङ्बु शेर्पाले बताए । ‘बोट लाइन मिलाएर लगाइएको छैन । निश्चित दुरीमा लगाउनु पर्ने रुख बाक्लै लगाइएको छ, रोगकिरा लागेका हाँगा काँटछाँट गरिएको छैन,’ उनले भने, ‘औषधिको त प्रयोग नै भएको छैन, उहाँहरूले परम्परागत रूपमा जसरी गरिन्थ्यो त्यसैगरि गर्दै आउनुभएको रहेछ, जसले गर्दा किसानेले जति लाभ लिनु पर्ने हो लिन सक्नु नभएको पाइयो,’ उनले भने । बगैंचा व्यवस्थापन गर्ने हो भने अहिले भन्दै निकै गुणस्तरीय उत्पादन गर्न सकिने सम्भावना छ ।