Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

उदयपुरको जगदेश्वरी महादेव गुफा ओझेलमा

उदयपुरको कटारी नगरपालिका–१ को खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा ओझेलमा परेको छ । प्राकृतिक रुपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् ।

खसिबास गाउँबाट गुफा पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ । फरक संरचना भएर पनि प्रचारप्रसार नहुँदा गुफा ओझेलमा परेको स्थानीय अगुवा ज्ञानबहादुर तामाङले बताए । ‘यसको विकासमा स्थानीय सरकारको चासो गएको छैन् । धार्मिक रुपमा एकदमै जनविश्वास बोकेको यस महादेव गुफाको संरक्षण गरी प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटकको आगमन बढाउन सकिन्छ’, उनले भने ।

विसं २०३५ मा गुफा फेला परेको थियो । तत्कालिन समयमा घना जङ्गलमा खयरको काठ तस्करी हुने गर्दथ्यो । एकपटक तस्करले गुफामा रातभर लुकेर ज्यान जोगाएका स्थानीय बुढापाका बताउँछन् । ‘यो एकदमै पुरानो गुफा हो’, स्थानीय ६५ वर्षीय कमलप्रसाद पोखरेलले भने, ‘यहाँ रातभर खयर काट्ने मान्छे बस्दा झलमल्ल राति नि हुने गर्दथ्यो ।’

पोखरेलका अनुसार रातभर यहाँ बसेपछि सपनामा यसको पूजा गरे केही नहुने देखेपछि पूजा आराधना सुरु भएको थियो । केही वर्ष पहिलेसम्म यहाँ भारतबाट समेत दर्शनार्थी आउने गरेका जनाउँदै उनले प्रचारप्रसार नहुँदा अहिले उदयपुर, सिन्धुली, सिरहा आसपासबाट दर्शनार्थी आउने गरेका बताए ।

माथिबाट निरन्तर झर्ना भर्ने यस गुफामा पुजा गर्नका लागि पानीमा डुबेर जानुपर्छ । चारैतिर चट्टानले भरिएको यस गुफामा सन्तान नहुनेले सन्तान तथा आफूले चाहेको मागेर भाकल गर्दा कामना पूरा हुने जनविश्वास रहेको छ । ‘गरिएको भाकल पूरा भएर धेरैले भाकल बुझाउन आउने गरेका छन्’, तामाङ भने, ‘अधिकांश भक्तजनले परेवा उडाउने, सुनको टीका चढाउनेलगायत भाकल गर्ने गर्दछन् ।’

तामाङकै नेतृत्वमा यसवर्षदेखि नयाँ छोटो बाटो समेत खनिएको छ । मानिस हिँड्ने बाटो झण्डै दुई महिना लगाएर खनिएको उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारले यसलाई धार्मिक पर्यटनका रुपमा प्राथमिकतामा राखेर प्रवर्द्धन गर्नुपर्नेमा तामाङले जोड दिए । नयाँ बाटोअन्तर्गत केही स्थानमा चौतारो, फलैँचा र मन्दिर निर्माण गर्न सके धार्मिक पर्यटकीयस्थल बन्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी–२ स्थित गुराँस र कटारी–३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ । बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ । रासस