फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोधमा आन्दोलन गर्न लागेका अभियन्ता ईः विरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् । फुटपाथ व्यवसायीलाई हटाउने महानगरको निर्णय उचित भएको र यसको विरोध गर्न नहुने भन्दै स्थानीयहरुले अभियन्ता ईः विरुद्ध प्रदर्शन गरेका हुन् ।
फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरको निर्णयविरुद्ध अभियन्ता ईःले महानगरपालिकाको प्राङ्गणमा उभिएर प्रदर्शन गर्न खाजेका थिए । तर स्थानीयहरुले सडकमा व्यापार गर्न नपाइने भन्दै अभियन्ता ईःविरुद्ध नै प्रदर्शन गरेका थिए । स्थानीयको प्रदर्शनपछि सुरक्षाकर्मीले महानगरभित्र अभियन्ता ईः लाई सुरक्षा दिएर राखेको थियो । त्यसपछि कडा सुरक्षाकाबीच सुरक्षाकर्मीले अभियन्ता ईः लाई त्यहाँबाट निकालेको थियो । महानगरपालिकाले मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार क्षेत्रमा फुटपाथ राख्न निषेध गरेको थियो । तर अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने भन्दै उभिएर विरोध गर्न खोजेका थिए ।
यसअघि पनि काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गर्दा अभियन्ता ईःले राष्ट्रिय सभागृहबाहिर १ सय ९९ घण्टा उभिएर विरोध जनाएका थिए। त्यसपछि काठमाडौं महानगर र अभियन्ता ईः बीच सम्झौता भएको थियो ।