Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बुद्ध एयरले नवविवाहित जोडीलाई लक्षित गरेर ल्याएको निःशुल्क टिकट योजनाले दुलाहा दुलही आकर्षित

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नवविवाहित जोडीहरुलाई लक्षित गरेर ल्याएको निःशुल्क टिकट योजनाले दुलाहा दुलही निकै आकर्षित भएका छन् ।

दुलाहा दुलहीको तस्विर समेत राखेर बुद्ध एयरको फेसबुकमा लेखिएको विषयमा पनि धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । हिजो पाँच जोडी बेहुलाबेहुलीको तस्बिर राखेर बुद्ध एयरको जहाजलाई पृष्ठभूमिममा राखेर खिचिएको फोटोको फेसबुकमा निकै प्रचार पनि भएको छ ।

कतिले त यो देखेपछि त्यसको कमेन्टमा फेरि बिहे गर्नुपर्छ कि क्याहो भनी ठट्यौली गरेका थिए भने केहीले आफ्ना पालामा त यस्तो कुनै एयरलाइन्सको अफर थिएन के गर्नु भनेर पनि टिप्पणी गरेका छन् । त्यसैगरी कतिले हिजोको त्यो फोटोमा उक्त एयरलाइन्सको प्रचारप्रसारको शैली र अफर सिर्जनात्मक रहेको भन्दै प्रसंशा पनि गरेका छन् । जे होेस, यो उपहार कार्यक्रमको निकै नै प्रशंसा गरिएको देखिएको छ ।

यसबाट नवविवाहित जोडी पनि निकै खुसी भएका छन् । उनीहरुले बडो खुसी मुडमा तस्बिर खिचाएर बुद्ध एयरलाई ट्याग गरी फेसबुकमा राखेका पनि छन् । मङ्सिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र विवाह गर्ने नवविवाहित जोडीलाई काठमाडौँ–पोखराको दुईतर्फी उडान टिकट निःशुल्क उपहार दिन लागेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले  जानकारी दिए ।

उनले भने, “मङ्सिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र विवाह गर्ने नवविवाहित जोडी मध्य १० जनालाई हामीले निःशुल्क टिकट दिने भएको छौँ, टिकटको समयावधी तीन महिनाको हुने र उक्त समयावधी भित्र यात्रा गरि सक्नु पर्ने छ ।”

काठमाडौँ–पोखराको दुईतर्फी उडान टिकट निःशुल्क उपहार लिनका लागि बुद्ध एयरको जहाजसँग नवविवाहित बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्ने कम्पनीले नियम बनाएको छ ।

गएको माघ महिनामा पनि कम्पनीले उक्त टिकट उपहार योजना सञ्चालनमा ल्याएको र ४१ जना नवविवाहितहरुले तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गरेकाले सबैलाई काठमाडौँ–पोखराको दुईतर्फी उडान टिकट निःशुल्क उपहार दिइएको बुद्ध एयरका प्रवक्ता कर्णले बताए ।

उहाँले भन्नुभयो, “अघिल्लो पटक हाम्रो सामाजिक सञ्जालमा फोटो ट्याग गरेका सबै नवविवाहितहरुलाई निःशुल्क टिकट प्रदान गरेका थियौँ, अहिले धेरै सङ्ख्यामा फोटो आउन थालेपछि यो पटकदेखि १० जना नवविवाहितहरुलाई छानिने छ ।” यसरी नव विवाहितलाई निःशुल्क टिकट प्रदान गर्ने बुद्ध एयर पहिलो हवाई कम्पन भएको दावी गरिएको छ ।