जंगली हात्तीले मोरङका विभिन्न स्थानमा गरेको क्षतिबारे बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्र पुगेका छन् ।
प्रभावित क्षेत्र निरीक्षण गर्न पुगेका मुख्यमन्त्रीले स्थानीयसँग छलफलसमेत गरेका छन् । हात्तीबाट हुने नोक्सानी कम गर्नका लागि सरकार गम्भीर रहेको उनले बताए । पछिल्लो समय मोरङको उत्तरी भेगमा समूहमा आएका जंगली हात्तीले स्थानीयको बालीनाली खाइदिने, घरबासमा क्षति गर्ने र आक्रमणसमेत गरिरहेका छन् ।
शुक्रबार मुख्यमन्त्री कार्कीले बेलबारी नगरपालिका–१० भाउन्ने क्षेत्र पुगेर हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गरे । उनले हात्तीबाट हुने गरेको क्षति घटाउन हात्ती करिडोर निर्माणदेखि जंगलमै जनावर रोक्न उनीहरुको खाद्यान्न आपूर्ति हुने बोट बिरुवा लगाउने सरकारको तयारी भएको बताए । विहीबार राति स्थानीय सविन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षतिले पुर्याएको थियो । झापा, मोरङ र सुनसरी विभिन्न स्थानमा यतिबेला जङ्गली हात्ती बस्ती पसेर धनमाल क्षति गरिरहेका छन् ।
पछिल्लो १५ दिनयता हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक एक गरी चारजना सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । बेलबारीको भाउन्नेमा १० बिगाहा भन्दा धेरै क्षेत्रमा लगाइएको मकै, केरालगायत बाली नष्ट गरेको वडाध्यक्ष अध्यक्ष गंगाबहादुर याख्खाले बताए ।