Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपालले माग्यो रुस–युक्रेन युद्धमा मारिएका ६ नेपाली शव (विज्ञप्तिसहित)

रूसी सेनामा भर्ना हुन हिजो मात्रै दिल्ली हुँदै ५३ नेपाली गएको सूचना छः प्रधानमन्त्री

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले आज सोमबार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गएको पुष्टि गरेको हो ।

ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले ज्यान गुमाएकाहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेको छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

रूसी सेनामा भर्ना हुन हिजो मात्रै दिल्ली हुँदै ५३ नेपाली गएको सूचना छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूसी सेनामा भर्ती हुनका लागि हिजो मात्रै भारतको नयाँदिल्ली हुँदै दुई समूहमा नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् ।

सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘हिजो मात्रै दिल्लीबाट २६ र २७ जना गरी दुई समूहमा रुसी सेनामा भर्ती हुन गएको सूचना प्राप्त भएको छ’, उनले भनेका थिए । यसरी अनधिकृत रुपमा नजानका लागि सरकारले अनुरोध गरिसकेको जानकारी गराउँदै रुसलाई पनि भर्ती नगर्न अनुरोध गरेको बताए । ‘आफ्नो ज्यान जोखिममा राखेर भर्ती हुन नजान सरकारले आग्रह पनि गरेको छ’, उनले भने ।

release_q1r0Y7E1Jy.webp