Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विप्लव–प्रकाण्डलगायतलाई पक्राउ पुर्जी गर्नु गलत भयोः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आज सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । ‘जे भयो गलत भयो । सरकारले विप्लवहरुसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरु शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरुलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ’ प्रधानमन्त्रीले भने ।

गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो । विप्लव समाजवादी मोर्चामा सहभागी छन् । २०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो । सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका थिए ।