Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यात्रु छुटाउने विषय क्षम्य हुन सक्दैन:  प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने बताएका छन् ।

बुधबार राति प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन दुबई जाने क्रममा दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पारिएको थियो । यात्रु छुटाएको वा उडान अगाडि सारिएको विषय प्रधानमन्त्रीलाई जानकारी नभएको उनको भनाइ छ ।  “प्रधानमन्त्रीज्यूका लागि एक हप्ताअगाडि टिकट लिइएको थियो । उहाँलाई दिइएको समय ९ः३० बजेको थियो र ९ः३० मै उहाँ उड्नुभएको हो,” प्रेस सल्लाहकारले भने, “प्रधानमन्त्रीलाई यात्रु छुटेको विषय जानकारी छैन । त्यसरी छुटाइएको हो भने त्यो क्षम्य विषय हुन सक्दैन ।” टिकट लिएका यात्रुलाई छुटाइएको भए त्यसको जिम्मा सम्बन्धित पक्ष (एयरलाइन्स)ले नै लिनुपर्ने आचार्यले बताए ।

 उनले प्रधानमन्त्री प्रचण्ड विशेष विमानबाट नभएर नियमित उडानमार्फत संयुक्त अरब इमिरेट्स (यूएई)गएको जानकारी दिए । उडान तालिका परिवर्तन गरिएको पनि प्रधानमन्त्री र सचिवालयलाई जानकारी नभएको उनले बताए । “प्रधानमन्त्री विशेष विमानमा भ्रमणमा जानुभएको होइन, नियमित उडानमा टिकट लिएर जानुभएको हो,” आचार्यले भने, “प्रधानमन्त्रीलाई दिइएको समयमा उडान भएको छ । यात्रुलाई अलपत्र पारिएको छ भने त्यो क्षम्य हुनै सक्दैन ।”