Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

वनभोज खाएर फर्किदै गरेको स्कुल बस दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु, ३९ जना घाइते

उदयपुरमा वनभोज खाएर फर्किदै गरेको स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । अधेरी झरना नजिकै बस दुर्घटना हुँदा त्रियुगा नगरपालिका–५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ ककी ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।

शनिबार उदयपुरगढी गाउँपालिका–७ मा अन्नपूर्ण सेकेण्डरी बोडिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो । उनीहरू वनभोज खाएर फर्किदै थिए । दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चालकले गाउँको वनभोजका लागि स्कुलको बस भाडामा लगेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताएका छन् ।