Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन, जब्बरजस्ती गरिए कारवाहीः प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाई नेतृत्वको समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नभएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको स्पष्ट पारेको हो ।

बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेको प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले बिहीवार विज्ञप्ति निकालेर गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको जानकारी गराएका हुन् ।

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चितता सहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ ।’

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानूनी गतिविधिहरूमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई कार्यालयले जानकारी समेत गराएको छ ।