Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सुन तस्करीः रसुवाको केरुङ नाकामा सर्वसाधारणको प्रयोग

उत्तरी सीमावर्ती जिल्ला रसुवाका विभिन्न नाकाबाट सुन तस्करी बढिरहेको थाहा भएको छ । विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय रसुवाबाट जानकारी मिलेको छ । 

हिजो मंगलबार मात्र पैदलयात्रीहरुले सुन ओसारेको जानकारी पाएपछि तीन व्यक्तिलाई पक्राउ गरिएको छ। केरुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२ तोला सुनका औंठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्तीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी लोकेन्द्र ज्ञवालीले नेपाल न्यूज बैंकलाई जानकारी दिए। रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानीका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिमका ङवाङ लोप्चन तामाङ सुन सहित समातिएका जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए। 

गएको आइतबार पनि १४ लाख ९१ हजार छ सय ८२ मूल्यका सुनका औँठीसहित तीन व्यक्ति पक्राउ परेका थिए। पक्राउ परेका सबैलाई सुन सहित भन्सार कार्यालयमा बुझाउने गरिएको ज्ञवालीले बताए। नेपाल र चीनको सीमावर्ती गाउँहरुबाट सर्वसाधारण व्यक्तिहरुमार्फत सुन ओसारपसार गराईएको सुरक्षा अधिकारीहरु बताउँछन्। गाउँ र बजार आवतजावत गर्ने सामान्य मानिसहरु प्रयोग गर्दा सुन ओसार्न सहज हुने देखेर तस्करले थोरै परिमाणका सुन बोकाउने गरेको उनीहरुको भनाई छ। सूचना अधिकारी ज्ञवालीले आफू सरुवा भै आएको तीन महिनाको अवधिमै चार पटक सुन तस्करीमा संलग्न मानिसहरु समातिएको बताए।

केही समयअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेको थियो। ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरुको अनौपचारिक भ्रमण गरेको आयोगकै एक सदस्यले बताए।   दशैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको थियो। सूचना अधिकारी ज्ञवालीले पनि आयोगको टोलीले त्यसक्षेत्रको भ्रमण गरेको पुष्टि गरेका छन्।