Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म जुलुस र प्रदर्शनमा रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले सो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको आदेशमा उल्लेख छ ।

‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने’ भएकाले निषेधाज्ञा लागु गरिएको आदेशमा उल्लेख छ ।

एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । नेकपा एमालेबाट निष्काशित प्रसाई पछिल्लो समय राजतन्त्र र हिन्दू राष्ट्रका पक्षमा वकालत गर्दै आइरहेका छन् । उनले पछिल्लो समय एमालेका नेताहरुको कडा आलोचना गर्दै आएका छन् । एमाले नेता महेश बस्ने र व्यावसायी दुर्गा प्रसाईबीच पछिल्लो समय आलोचना र आरोप–प्रत्यारोप समेत चल्दै आएको छ ।

ni.webp