Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बर्दियामा युवकको कुटपिट गरी हत्या, आठजना पक्राउ

 बर्दियामा एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।  गुलरिया नगरपालिका–६, गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६, गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६, ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, कृष्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५, बंगलामुखी टोल बस्ने १९ वर्षीय दिपेश बुढामगर रहेका छन् । त्यस्तै, सोही नगरपालिका–८, कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४, गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३, विदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् । 

गुलरिया नगरपालिका–५, सुहेलवामा उनीहरूले गत कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी बरूणलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।  प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ ।  घटनामा संलग्न हाल फरार अन्य तीनजनाको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।