भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ । भूकम्प पीडित जनताको लागि उक्त चामल हस्तान्तरण गरिएको हो ।
भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल आज रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । उनका अनुसार रुकुम पश्चिमका लागि लगिएको चामल हस्तान्तरण गरिसकिएको छ भने जाजरकोटका लागि पठाइएको चामल शनिबारसम्म त्यहाँ पुग्नेछ । रुकुम पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका, चौरहजारी गाउँपालिकाका प्रभावित नागरिकका लागि चामल वितरण गरिने जानकारी दिए ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राहत कोषमा एक करोड ११ लाख एक हजार १११ रुपैयाँ सहयोग प्रदान गरिसकेका छन् ।